झापा- स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
वैशाख ११ र १२ गते गरिएको उम्मेदवारी दर्ताका लागि शुक्रबार अपराह्नसम्मको समय निर्वाचन आयोगले उपलब्ध गराएको थियो।
उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन्। जसमा नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवारी दिने नगरप्रमुखका प्रत्याशी रमा खवास र उपप्रमुख प्रेमसागर सापकोटालगायत छन्।
उम्मेदवारी फिर्ता लिनेहरुमा विर्तामोड नगरपालिकाबाट वडाध्यक्षका उम्मेदवारसहित १७, मेचीनगरबाट १६, बुद्धशान्ति गाउँपालिकाबाट १६, कचनकवलबाट सात, हल्दिबारीबाट छ, भद्रपुर नगरपालिकाबाट पाँच, बाह्रदशीबाट तीन, झापाबाट दुई, कमल गाउँपालिकाबाट एक, गौरादह नगरपालिकाबाट आठ, गौरीगञ्जबाट तीन, दमक नगरपालिकाबाट १३, शिवसताक्षीबाट ११ र कनकाई नगरपालिकाबाट १० जना रहेका छन्।
जिल्लामा उम्मेदवारी फिर्ता गर्नेमा १० प्रमुख पदका, उपप्रमुखका नौ, वडाध्यक्षका ५० र बाँकी सबैमा महिला, दलित र खुल्ला सदस्यबाट रहेका छन्। जिल्लाका १५ पालिकामा जम्मा दुई हजार ९१४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।