काठमाडौं– दुबई पठाउने बहाना बनाएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–५ का ३३ वर्षीय विकास तामाङ र सोही ठाउँका ६० वर्षीय हरिबहादुर तामाङलाई पक्राउ गरेको हो।
उनीहरुलाई चुच्चेपाटी र जावलाखेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
मोरङका २० वर्षीय विक्रम समेत ५ जनाले उनीहरुविरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। भिजिट भिसामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ३ हजार दिरामसम्म कमाई हुने भन्दै ठगी गरेको खुलेको छ।
उनीहरुले पाँच जनाबाट ९ लाख ५० हजार रुपैयाँ उठाएर दुबई नपठाई ठगी गरेको खुलेको छ। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।