काठमाडाैं-असन्तुष्ट १० सिनियर खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट खेलाडीहरुले सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले निकालेको भन्दै टिममा फर्किन नसकिने बताएका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरुलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकालेको खेलाडीले दाबी गरेका छन्।
‘बारम्बार कुरा गर्न खोज्दा उहाँले छाडेर जाओ भन्नुभयो’, खेलाडी अनन्त तामाङले भने, ‘अब फेरि कोचसँग खेल्न कठिन हुन्छ।’
प्रशिक्षक अल्मुताइरीले आफूहरुलाई इनसाइड फिल्डमा मात्र नभइ आउटसाइट फिल्डमा पनि हस्तक्षेप गरेको आरोप उनीहरुले लगाए।
‘सानो-सानो कुरामा पनि प्रशिक्षकले डर देखाउँथे। तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई मानसिक दबाब दिइयो। यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन’, उनले भने।
उनले अहिलेको यो घटनामा आफूहरु दोषी भए कारबाहीका लागि तयार रहेको भन्दै छानबिन गरिदिन एन्फासमक्ष आग्रह गरेका छन्।
‘हामीले आफ्नो कुरा भनिसकेका छौं। हामीलाई प्रशिक्षकसँग खेल्न गाह्रो छ। यसबारे एन्फाले निष्पक्ष छानविन गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।
पत्रकार सम्मेलनमा रोहित चन्दले राष्ट्रिय टोलीमा फर्किए पनि आफूहरुलाई प्रशिक्षक अल्मुताइरीमाथि विश्वास नहुने बताए।
‘अल्मुताइरी आएपछि टिममा परिवर्तन भने धेरै भएको छ। पहिलेको तुलनामा हामीले खेलहरु पनि धेरै खेल्न पाइरहेका थियौं। तर, हामीलाई उहाँसँग व्यक्तिगत रुपमा समस्या छ। अब हामी टोलीमा फर्किए उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न,’ उनले भने।
यता,विशाल राईले रोहितलाई टोलीमा राख्नुपर्छ भनेर होटेल नछोडेको दाबी गरे। उनले पनि खेलाडीको सुविधाका बारेमा कुरा उठाएकाले आफूहरु प्रशिक्षक अल्मुताइरीबाट पीडित बनेको बताए।
‘रोहितलाई टिममा राख्नुपर्छ भनेर हामीले होटल छाडेका हैनौं। रोहितले खेलाडीको सुविधाबारे कुरा उठाएकाले हामी पनि त्यसमा सहभागी भएका हौं। हामी विद्रोही होइन पीडित हौं,’ उनले भने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।