काठमाडौं– राष्ट्रिय फुटबल टिमका सदस्य (खेलाडी)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरूलाई टर्चर दिइरहेको बताएका छन्। प्रशिक्षक अल्मुताइरीले आफूहरुको व्यक्तिगत जीवनमा समेत दखल दिएको खेलाडीको भनाइ छ।
राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङले अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसकिने बताए।
शिक्षक अल्मुताइरीविरूद्व गरेको विद्रोहबारे बिहीबार जानकारी दिँदै तामाङले प्रशिक्षकको अन्डरमा काम गर्न निकै गाह्रो भएको बताए।
'प्रशिक्षकको अन्डरमा काम गर्न निकै गाह्रो हुन्छ। उहाँले हाम्रो व्यक्तिगत जीवनमा पनि दखल दिँदै आइरहनु भएको छ। उहाँले कस्तो कपडा लगाउने, कस्तो ट्याटु खोप्ने लगायतका कुरामा पनि कडाइ गर्नुहुन्थ्यो। त्यसैले अब हामी फर्किन गाह्रो छ। अखिल नेपाल फुटबल संघले दोषीलाई कारबाही गर्नुपर्छ,' उनले भने।
यता, डिफेन्डर रोहित चन्दले आफूले प्रशिक्षकको सम्मान गर्ने बताउँदै व्यवहारको विरूद्व विद्रोह गरेको बताए।
'उहाँ आउनु भएपछि राष्ट्रिय टोलीमा सुधार आएको छ। बलियो टोलीसँग राम्रो नतिजा निकालेका छौं। उहाँको फिल्डमा राम्रो व्यवहार छ। तर, उहाँको अनफिल्ड सम्बन्ध राम्रो भएन। त्यसैले बन्द प्रशिक्षण छाड्यौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।