काठमाडौं– सरकारले सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
केही दिन अघि बसेको बढुवा समितिको बैठकले डीआईजी राजु अर्याललाई एआईजीमा बढुवा सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले बढुवा समितिको सिफारिसलाई सदर गर्दै अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बलको भावी महानिरीक्षक (आईजी) बन्ने गरी अर्याल एआईजीमा बढुवा भएका छन्।
सशस्त्र प्रहरीमा २ जना एआईजीको दरबन्दी छ। जसमध्येका पुष्पराम केसी केही दिन अगाडि मात्रै आईजीमा बढुवा भएका थिए। केसी आईजीमा बढुवा भएपछि रामशरण पौडेल मात्रै एआईजी छन्।
३० वर्षे सेवा अवधिका कारण केसी र पौडेल आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि एआईजीमा बढुवा भएका अर्याल नै आईजीमा बढुवा हुनेछन्। सशस्त्रमा एआईजीबाट मात्रै आईजी बढुवा गरिने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।