काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा अन्तरिम दिने/नदिने भन्ने पेसी अवकाशपछि मात्रै सुनुवाइ हुने भएको छ। एआईजी बढुवाविरुद्ध उजुरी हालेका डीआईजी वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदै छन्। त्यसको भोलिपल्ट १९ गतेका अन्तरिम दिने/नदिने भन्ने पेसी तोकिएको छ।
यसअघि चैत २५ गते पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले वादी–प्रतिवादी दुवै पक्षलाई छलफलमा बोलाएको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले सरकारलाई अन्तरिम आदेश जारी गर्ने कि नगर्ने विषयमा छलफलमा आउन आदेश दिएको थियो। अदालतले चैत २८ गतेका लागि छलफलमा बोलाए पनि सुनुवाइको पालो नै नपाएपछि अब अर्को सुनुवाइ अनिश्चित भएको थियो।
आज (सोमबार) सुनुवाइ हुने भनिए पनि आज पेसी नै नतोकी वैशाख १९ गतेका लागि सारिएको हो। जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै तीन सिनियर डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। उनीहरु वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्।
न्याय नपाउने निश्चित भएपछि डीआईजी कार्कीले न्याय पहुँच भन्दा बाहिर गएको भन्दै टिप्पणी समेत गरेका छन्।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। सिनियरलाई छुटाएर जुनिएरलाई बढुवा गरिएको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा भएकै दिन उनीहरुले एआईजीको फुलीसमेत लगाएका थिए। उनीहरु अहिले पदस्थापन भएर जिम्मेवारी सम्हालिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।