काठमाडौं– लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) विगत एक महिनादेखि नेतृत्वविहीन भएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि एनसीबी नेतृत्वविहीन भएको हो।
थापा गत चैत १५ गते अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएको एक महिना बित्दासमेत गृह मन्त्रालयले कसैलाई एनसीबीमा सरुवा गर्न सकेको छैन। कुनै समय प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेतलाई प्रमुख बनाएर जिम्मेवारी दिइने गरेको एनसीबी अहिले प्रहरी उपरीक्षक (एसपी)को भरमा चल्दै आएको छ।
केही समयअघि मात्रै गृह मन्त्रालयले लागुऔषधको अवस्था भयावह बन्दै गरेको भन्दै मन्त्रालयमै पत्रकार सम्मलेन गरेर जानकारी गराएको थियो। त्यसका लागि नियन्त्रण गर्न पनि चुस्त संयन्त्र बनाइनले योजनासमेत ल्याएको थियो। तर त्यही मन्त्रालयले एक महिनादेखि एनसीबी नेतृत्वविहीन बन्दासमेत कसैलाई सरुवा गरेर जिम्मेवारी दिन सकेको छैन।
लागुऔषधको अवस्था भयावह बन्दै गएको रिपोर्ट सार्वजनिक गरेको गृहले कानमा तेल हालेर बस्दा एक महिनादेखि ब्युरो नेतृत्वविहीन बनेको छ। एनसीबीमा अन्य ठाउँको जस्तो आकर्षण नभएकाले न कोही प्रहरी अधिकारी सरुवा हुनुपर्यो भन्दै शक्तिकेन्द्र धाउँछन् न गृहले कसैलाई जिम्मेवारी दिएर पठाउन सक्छ । जसकारण एनसीबी नेतृत्वबिहिन बन्न पुगेको छ।
प्रहरी नियमावली अनुसार एसएसपी र डीआईजी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ। तर गृहले चासो नदिँदा अहिलेसम्म एनसीबीमा कसैको सरुवा हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।