काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकमा आसन्न स्थानीय तह निर्वाचनबारे छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा ३० वैशाखमा हुने तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको जानकारी दिए।
‘सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनमा अपनाउने सुरक्षा रणनीतिबारे कुराकानी भयो,’ गृह प्रवक्ता पोखरेलले भने, ‘सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिहरूले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराउनुभयो। थप सुरक्षा प्रबन्ध राम्रो कसरी बनाउने र स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भयो।’
बैठकमा गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंसा गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसुर बाँकी नराखी लाग्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए।
‘निर्वाचन तयारीका सन्दर्भमा तपाईंहरूले पेस गरेका योजना उपयुक्त छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ। त्यो हाम्रो जिम्मेवारी हो,’ गृहमन्त्री खाणले भने, ‘अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईंहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला। हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ।’
निर्वाचनमा आउन सक्ने चुनौती के के हुन् र ती चुनौती चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।