काठमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा बुधबार राति सम्पन्न भएको खेलमा ब्राइटनमाथि ३-० गोलअन्तरको सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो।
सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक/एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा ३ गोल भएको थियो। खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।
६५औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३-० को सहज जित दिलाए।
जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेको छ। सिटीको दोस्रो स्थानको लिभरपुल भन्दा १ अंक बढी रहेको छ।
ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा रहेको छ। बुधबार राति नै भएको अन्य खेलमा एभर्टन र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका छन्।
यता, न्यू क्यास्टलले क्रिस्टल प्यालेसलाई १–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।