काठमाडौं– कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्टस् र इन्टर मिलान भिड्ने भएका छन्।
घरेलु मैदानमा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २-० गोल अन्तरको जित निकाल्दै युभेन्टसले फाइनलमा मिलानसँगको भेट पक्का गरेको हो।
दोस्रो लेगको जितसँगै युभेन्टसले समग्रमा ३-० गोल अन्तरको जित निकाल्यो। पहिलो लेगमा युभेन्टसले १-० गोल अन्तरको जित निकालेको थियो।
युभेन्टसलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक एक गोल गरे।
खेलको ३२औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्टसलाई २-० को जित दिलाए।
अब युभेन्टसले उपाधिका लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै इन्टर फाइनलमा पुगेको थियो।
यसअघि सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।