काठमाडौं– तेस्रो स्थानमा रहेको चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग पराजित भएको छ।
बुधबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी आर्सनलसँग ४–२ गोल अन्तरले पराजित भएको हो। आर्सनलको जितमा एड्डी एनकेटीह दुई तथा एमिल स्मिथ रोवे र बुकायो साकाले एक एक गोल गरे।
चेल्सीका लागि टिमो वार्नर र सेजर एज्पिलिक्वेटाले एक एक गोल गरे। खेलको १३औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसको ४ मिनेटमै टिमो वार्नरले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए। २७औं मिनेटमा स्मिथले गोल गर्दै आर्सनललाई पुन: अग्रता दिलाए।
३२ औं मिनेटमा सेजरले गोल गर्दै चेल्सीलाई २-२ को बराबरीमा ल्याए। ५७औं मिनेटमा एड्डीले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेपछि आर्सनलले ३-२ को अग्रता बनायो।
त्यसपछि खेलको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाए।
जितसँगै पाँचौ स्थानमा रहेको आर्सनलले ३२ खेलमा ५७ अंक जोडेको छ। चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।