काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको रिक्त दुई सञ्चालकका लागि दुई जनाको नाम सिफारिसका गरेको छ।
सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम सिफारिस गर्दै नियुक्तिका लागि सहमति दिन निर्वाचन आयोगमा पठाएको छ।
निर्वाचन आचारसंहिता लागू भइसकेकाले नियुक्तिका लागि आयोगको सहमति अनिवार्य भएकाले त्यसका लागि पठाइएको हो।
केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम तय गरेको हो। निर्वाचन आयोग स्रोतले पनि राष्ट्र बैंकको सञ्चालकका लागि दुई जनाको नाम आएको पुष्टि गरेको छ।
‘आयोगमा पत्र आएको छ। हामीले छलफल गरेका छैनौं’ एक आयुक्तले भने ‘छलफपछि निर्णय गरेर पठाउँछौं।’
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले आचारसंहिता लागू गरिसकेको छ। आयोगको सहमतिपछि भने सरकारले नियुक्तिका लागि सिफारिस गर्न सक्छ।
आयोगको स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकले आचार्य र ढुंगानालाई राष्ट्र बैंक सञ्चालक समितिमा नियुक्त गर्नेछ। राष्ट्र बैंक सञ्चालकबाट श्रीराम पौडेल र रामजी रेग्मीको अवकाश भएपछि दुई सञ्चालक रिक्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।