काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतबाट न्याय मिलेको बताएका छन्। आफ्नो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अधिकारीले आफू व्यक्तिगतभन्दा पनि समग्र व्यवस्थाका लागि सर्वोच्च पुगेकाले त्यहाँबाट न्याय मिलेको बताएका हुन्।
नेपाल लाइभसँग कुरा गर्दै उनले अहिले प्रारम्भिक आदेश भएको जानकारी आफूले पाएको र आदेश पाएपछि राष्ट्र बैंक जाने बताए। ‘अहिले १३ गतेसम्मका लागि अन्तरिम आदेश जारी भएको जानकारी पाएको छु,’ उनले भने, ‘मभन्दा पनि राष्ट्र बैंकको व्यवस्था बँच्नुपर्छ भन्ने मेरो बुझाइ हो।’
आफूले अर्थतन्त्र सुधारका लागि काम गरेको र कतै कुनै गल्ती नगरेकाले अदालत पुगेको उनले बताए। सर्वोच्चको अन्तरिम आदेश लिएर उनी बुधबार नै राष्ट्र बैंक जाने छन्। योसँगै अर्थमन्त्री जनार्दन शर्मामाथि नैतिक दबाब बढेको छ। सर्वोच्चको आदेशले अर्को सुनुवाइ नभएसम्म छानबिन समितिले पनि काम गर्न नपाउने भएको छ।
सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनेको थियो। त्यसविरुद्ध उनी सर्वाेच्च पुगेका हुन्। नेपाल राष्ट्र बैंक ऐन अनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।