काठमाडौं– वीर अस्पतालबाट फरार भएका थुनुवा राजेश तिरुवा पक्राउ परेका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय तिरुवालाई बुढानीलकण्ठस्थित राधाकृष्ण मन्दिर परिसरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
प्यारालाइसिस भएको बताइएपछि उनलाई उपचारका लागि चैत ३० गते वीर अस्पताल लगिएको थियो। सो क्रममा उनी फरार भएका थिए।
तिरुवालाई सिन्धुपाल्चोक प्रहरीले गत माघ १७ गते बलात्कार आरोपमा कुन्चोकबाट पक्राउ गरेको थियो। गत माघ १६ गते एक महिला चौतारा जान्छु भनी घरबाट निस्केकी थिइन्। ती महिलाको बाटोमा तिरुवासँग भेट भएको थियो। त्यसपछि तिरुवाले ती महिलालाई ललाई फकाइ आफ्नो घर लगि राति बलात्कार गरेको आरोप लागेको थियो।
बलात्कार आरोपमा उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। त्यसपछि उनी जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा थिए।
बिरामी भएको बताएपछि चैत २९ गते मात्रै उनलाई काठमाडौं ल्याएर केन्द्रीय कारागारमा राखिएको थियो। राति उपचारका लागि वीर अस्पताल लगिएकोमा उनी अस्पतालबाटै भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।