काठमाडौं– आज (मंगलबार) र भोलि (बुधबार) देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ। देशभरका ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ।
देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको छ। भिटामिन ए कार्यक्रमका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
देशभर भिटामिन ए क्याप्सुल ४० लाख र जुकाको औषधि अल्वेन्डाजोल ३५ लाख ट्याब्लेट सम्बन्धित केन्द्रमा पुर्याइसकिएको मन्त्रालयको भनाइ छ। नेपामला भिटामिन ए क्याप्सुल खाने २७ लाख जना र जुकाको औषधि खाने २४ लाख जना छन्। त्यसका लागि करिव ६ करोड ७१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ। जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।