काठमाडौं– आइतबार बिहान स्याङ्जामा जीप दुर्घटना हुँदा डाँडाखर्क गाउँ नै शोकमा परेको छ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ आइरहेको यात्रुबहाक जीप बिहान १० बजे वालिङ–१२ को डाँडाखर्कस्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो। अनियन्त्रित भएर दुर्घटना हुँदा एक शिशुसहित ५ जनाको मृत्यु भएको छ। थप ६ जना घाइते भएका छन्।
जीपमा सवार वालिङ नगरपालिका–१२ डाँडाखर्क बस्ने ६५ वर्षीय वीरवहादुर दाला, ५४ की हिरा दाला, २५ की शर्मीला सारु, उनको ७ महिनाको छोरा गौरव सारु र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए।
घाइते हुनेहरुमा ६० वर्षीय अंगवहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९ वर्षीया लक्ष्मी दाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन्। घाईते सबैको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
थापाका अनुसार मृतक र घाइते सबै डाँडाखर्क गाउँकै रहेका छन्। घाइतेमध्ये जीप चालक दलबहादुर थापा, मायाकुमारी सारु, लक्ष्मी दाला र अंगबहादुर दालाको अवस्था गम्भीर रहेको छ। उनीहरु चारै जनाको टाउको र छातीमा चोट लागेको थापाले बताए।
थापाले भने, ‘प्राथमिक स्वास्थ्य चौकी वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।’
अन्य दुईको भने प्राथमिक स्वास्थ्य चौकी वालिङमै उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।