धनगढी– धामीझाँक्रीको यातनाबाट मृत्यु भएकी भनिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले ७ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।
शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै ७ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेकाहरुविरुद्ध नै आइतबार आफन्तले जाहेरी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले पक्राउ परेका व्यक्तिविरुद्ध आफन्तहरुले जाहेरी दर्ता गराएको जानकारी दिए। उनका अनुसार आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षीया कमला साउद, ३८ वर्षीया गौरी साउद, ७२ वर्षीय नारायण भट्ट, ६० वर्षीय धर्मानन्द भट्ट, ३६ वर्षका चक्रसिंह साउद, ४३ वर्षका कुवेरबहादुर साउद र ५४ वर्षिया जानकी वरालविरुद्ध जाहेरी दिएका हुन्।
वेदकोट नगरपालिकाका–६ का वडा सदस्य धनसिंह पुजाराले रन्जुलाको हत्या ३ दिन अघि नै भएको बताए । ‘शवको प्रकृति हेर्दा ३ दिन अघि नै हत्या भएको देखिन्छ । एकै दिनमा शव गन्हाउन सम्भव छैन,’ उनले भने, ‘धामीझाँक्रीले महिलालाई कुटपिट गरेर हत्या गरेको देखिन्छ।’
शनिबार कमलाको घरको आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताइएका फलामका डन्डी र बीचमा महिलाको शव भेटिएको थियो। महिलाको शव गन्हाइसकेको थियो। वडा सदस्य पुजाराका अनुसार रञ्चुला ज्यालादारीमा काम गर्दै आएकी थिइन्। उनी एकल महिला हुन्। उनका श्रीमान्को ७ वर्ष अघि नै भारतमा मृत्यु भएको जनाइएको छ।
वडा सदस्य पुजाराले भने, ‘तीन दिन अघिसम्म उनी प्रधानमन्त्री रोजगार कार्यत्रमअर्न्तगत श्रमको काम गरिरहेकी थिइन्। उनले त्यहाँ हाजिरी पनि लगाएको देखिन्छ। सिकिस्त बिरामी थिइन् भने कसरी काममा गइन?’
महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। शव परीक्षण गरिएको र त्यसको रिपोर्ट आएपछि मात्रै घटनाबारे थप तथ्य बाहिर आउने डीएसपी शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।