काठमाडौं– नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिनमा सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार परिसूचक (नेप्से) २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झर्यो।
आइतबार कुल २३३ कम्पनीको सेयर खरिदबिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्य यथावत् रह्यो। आइतबार कारोबारमा आएका १२ वटै उपसूचक राताम्मे रहे ।
आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक करोबार हुँदा कुल कारोबार रकम १ अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो।
नेस्डो समृद्ध लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घट्न पुग्यो।
घटेको बजारमा पनि आइतबार जल्पा सामुदायिक लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्तका सेयरधनीले बजारबाट ३ देखि ४ प्रतिशतसम्मले कमाए।
आइतबारको बजारमा उर्जासँगै, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, सामलिङ्ग पावर र नयाँ सारथी लघुवित्तका सेयर धनीले ५ प्रतिशत हाराहारीले नोक्सान बेहोरे।
आइतबार सबैभन्दा धेरै नेपाल टेलिकमको सेयर किनबेच भएको छ। टेलिकमको कूल ४९ करोड ९४ लाख हजार बराबरको सेयर किनबेच भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।