काठमाडौं– आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकार (मन्त्रिपरिषद्)को निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुगेका छन्।
विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारी सर्वोच्च पुगेका हुन्।
यद्यपि, अधिकारीको रिट दर्ताबारे भने निर्णय भइसकेको छैन। सर्वोच्च अदालत प्रशासनका अनुसार अहिले अधिकारीले पेस गरेको रिटमाथि अध्ययन भइरहेको छ।
अधिकारीमाथि छानबिनका लागि भन्दै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वत: निलम्बनमा परेका छन्।
कुनै गल्ती वा अनियमतिताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले रिटमा उक्त निर्णय खारेजीको मागदाबी गरेका छन्।
'उहाँ (अधिकारी) रिट ल्याएर आउनुभएको छ। अहिले रिट अध्ययनकै क्रममा छ,' सर्वोच्च अदालत स्रोतले नेपाल लाइभसँग भन्यो, 'अध्ययन सकिएपछि मात्रै दर्ता गर्ने कि दरपिठ (दर्ता अस्वीकार) गर्ने भन्ने निर्णय हुन्छ।'
चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।