काठमाडौं–अमेरिकी अध्यागमनका विषयलाई प्रमुख रुपमा समेटेर पत्रकार किशोर पन्थीले लेखेको पुस्तक ‘जिरो माइल’ शनिबार सार्वजनिक गरिएको छ। पुस्तकमा अमेरिकी अध्यागमनलगायतका १११ टिप्स समावेश छन्।
पुस्तकमा आप्रवासी र गैर आप्रवासी भिसामा अमेरिका आउन चाहनेहरु र अमेरिका आइसकेकाहरुका लागिमात्र नभई अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि समेत जानकारीहरु समेटिएको लेखक पन्थीले जनाए। अमेरिकाको अध्यागमन कानुनबारे सही जानकारी नहुँदा कैयन व्यक्तिले समस्या भोग्नु परेको र कैयन व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने पन्थीको भनाइ छ।

पुस्तकमा अध्यागमनबारेमात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु प्रदान गरिएको छ । अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गर्ने प्रयास पुस्तकमा गरिएको लेखक पन्थीले जानकारी दिएका छन्।
कार्यक्रममा पत्रकारहरु शुभशंकर कँडेल र यशोदा तिम्सिनाले पुस्तकको समीक्षा गरेका थिए। गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्युयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनी १० बर्षदेखि न्युयोर्कबाट प्रकाशन हुने ‘खसोखास’ का प्रधानसम्पादक हुन्।
कार्यक्रममा केही समयअघि निधन भएका आशिस खनालको स्मृतिमा आशिष फाउण्डेशनको पनि शुभारम्भ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।