काठमाडौं– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (शुक्रबार) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।