काठमाडौं– आजबाट विक्रम संवत् २०७९ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन (वैशाख १ गते) देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।
आजबाट सूर्य मेष राशिमा प्रवेश गर्छ। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए। ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवतका विशेषतादेखि इस्वी संवतका व्यावहारिक गुण यसभित्र समावेश छ,’ उनले भने।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ। चैत १९ गतेदेखि नल नामको संवत्सर सुरु भएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।