काठमाडौं– सशस्त्र प्रहरी बलको रिक्त रहेको अतिरिक्त महानिरीक्षक (१ पद)मा बढुवाद्वारा पदपूर्ति गर्न आवेदन आह्वान भएको छ।
गृह मन्त्रालयको बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) पुष्पराम केसीले एआईजी बढुवाका लागि बुधबार आवेदन आह्वान गरेका हुन्।
एआईजीको बढुवाका सम्भाव्य उम्मेदवार रहेका सशस्त्र प्रहरी महानिरीक्षक (डीआईजी)हरुलाई सूचना प्रकाशित भएको मितिले ३ दिन (२०७९ वैशाख २ गते) भित्र मूल्याङ्कन फाराम भरी पेस गर्न भनिएको छ।
सशस्त्र प्रहरीमा अब बढुवा हुने एआईजीले नै १९ दिनपछि संगठनको नेतृत्व गर्ने अवसर पाउनेछन्।
सशस्त्र प्रहरीमा २ जना एआईजीको दरबन्दी छ। जसमध्येका पुष्पराम केसी बुधबार मात्रै आईजी नियुक्त भएका थिए। केसी आईजी नियुक्त भएपछि रामशरण पौडेल मात्रै एआईजी छन्।
३० वर्षे सेवा अवधिका कारण केसी र पौडेल आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि अब नियुक्त हुने एआईजी नै आईजीमा बढुवा हुनेछन्।
एआईजीको १ पदमा बढुवाका लागि अहिले सशस्त्र प्रहरीका ३ जना डीआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम (सिपी) प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।