काठमाडौं- मानव हड्डीसहित पक्राउ परेका एक एमबीबीएसका विद्यार्थी रिहा भएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्ष अध्ययनरत आदित्य सिन्हा बुधबार रिहा भएका हुन्।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) रानी, मोरङबाट खटिएको टोलीले सिन्हालाई मानव हड्डीसहित मंगलबार पक्राउ गरेको थियो। पक्राउ लगत्तै सन्हाले अध्ययनका लागि हड्डी बोकेको बताएका थिए। तर, प्रहरीले थप अनुसन्धानका लागि भन्दै उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पत्र पठाउँदै रिहा गर्न अनुरोध गरेको थियो। प्रतिष्ठानले प्रहरीलाई पत्र लेख्दै सिन्हा प्रतिष्ठानका विद्यार्थी रहेको र उनले अध्ययनका लागि आवश्यक पर्ने हड्डी (बोन सेट) ल्याएकाले आवश्यक सहयोग गरी घर जान अनुमति दिन अनुरोध गरेको थियो। उक्त पत्रपछि प्रहरीले बुधबार सिन्हालाई परिवार र प्रतिष्ठानको जिम्मामा रिहा गरेको जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक (डीएसपी) दीपक श्रेष्ठले सिन्हाको विषयमा कुनै पनि कानुन आर्षित नहुने देखिएपछि परिवार तथा प्रतिष्ठानको जिम्मा लगाइएको जानकारी दिए।
‘मानव हड्डी बोकेर हिँड्नेलाई कारबाही गर्नका लागि भनेर कुनै पनि कानुन आकर्षित हुने देखिएन। उनी एमबीबीएस अध्ययनरत विद्यार्थी रहेको र रिहा गर्नुभन्दै प्रतिष्ठानले पत्र समेत लेखेपछि हामीले जिम्मा लगाएका हौं,’ डीएसपी श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।