काठमाडौं- बिद्रोहीको गोली कंगोमा ज्यान गुमाएका शान्ति सैनिकलाई नेपाली सेनाले श्रद्धाञ्जली अर्पण तथा अन्तिम सम्मान अर्पण गरको छ।
कंगोमा सञ्चालन भएको अपरेशन "बाली" का क्रममा चैत २२ गते बिद्रोही गोली लागि घाइते भएपछि बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सुर्खेत गुर्माकोट नगरपालिका-१४, जहरे निवासी प्युठ अनिल गुरुङको पार्थिव शरीरलाई मंगलबार नेपाल ल्याइएको थियो।
गुरुङको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पण गरेको छ।
छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित श्रद्धाञ्जली तथा अन्तिम सम्मान अपर्ण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सम्मान स्वरुप गुरुङको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली स्वरुप फूलमाला अर्पण गरेका थिए।
त्यस्तै रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। संयुक्त राष्ट्रसंघको तर्फबाट रिचार्ड हवार्डले गुरुङको पार्थिव शरीरमा राष्ट्र संघको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए।

त्यस क्रममा नेपाली सेनाका बलाधिकृत, बलाध्यक्ष लगायत रथी, अधिकृत, पदिक तथा उपस्थित परिवारजनले पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात् नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो।
प्रधानसेनापति शर्माले मोनुस्को मिसनका फोर्स कमाण्डरले पठाएको समवेदना पत्र र अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका थिए।

श्रद्धाञ्जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङको पार्थिव शरीरलाई आजै नेपाली सेनाको हेलिकप्टरद्वारा गृहजिल्ला सुर्खेत लगी परिवारजनलाई हस्तान्तरण गरि नेपाली सेनाको स्थान विशेषमा तैनाथ युनिटबाट अन्तिम सलामी प्रदान गरिने नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।