काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको बताएका छन्। युक्रेनको राजधानी किएभ वरपरबाट रुसी सेना फिर्ता गरेपछि पहिलो पटक पुटिनले वार्ताको बारेमा सार्वजनिक प्रतिकृया दिएका हुन्।
उनले भने, ‘हाम्रो वार्ता फेरि एकपटक गतिरोधमा फर्किएको छ।’ रुसी राष्ट्रपतिले पूर्वी युक्रेनमा रुसी भाषी जनताको सुरक्षाका लागि रुसले आफ्नो अभियान जारी राख्ने बताए।
युक्रेनले युद्ध अपराधको बारेमा ‘झूटा दाबी’ गरिरहेको उनको भनाइ छ। साथै, उनले आफ्नो लागि थप सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन्।
रुसले युक्रेनमा आक्रमण थालेको ४९ दिन भइसकेको छ। तर, उसले सुरुमा लक्ष्य गरेअनुसार राजधानी किएभसहितका प्रमुख सहर कब्जा गर्न सकेको छैन। अहिले रुसले आफ्नो आक्रमण युक्रेनको पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित गरेको छ।
तुलनात्मक रुपमा आकारमा सानो र सैन्य क्षमताका हिसाबले पनि कमजोर मानिएको युक्रेनी सैनिकले भने गएको फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गरेदेखि नै प्रभावकारी रक्षात्मक प्रदर्शन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।