काठमाडौं– दुई दिनदेखि जारी ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज÷समुदाय निर्माणमा आआफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प गरेका छन्।
‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आआफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियान्ताका रूपमा काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शंकरमान श्रेष्ठले पनि सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गरेका छन्।
हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे घोषणापत्रमा उल्लेख छ। सम्मेलनका अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन महिलालाई पुरस्कृतसमेत गरिएको थियो।
तनहुँको भानु गाउँपालिका र दाङको तुलसीपुरमा गाईपालन गरिरेका बबिता गुरुङ र सरिता रेउले तथा रंगेली–१ मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी साहले उत्कृष्ट उद्यमी पुरस्कार पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।