काठमाडौं– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र शहरीकरण डरलाग्दो रुपमा बढिरहेको बताएकी छन्।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।
उनले बसाइँसराइ एक किसिमले अवसर भएपनि त्यसलाई सदुपयोग गर्न नसकेको बताइन्। मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमित र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको पनि बताइन्।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोवास गर्नेहरूको जनसंख्या ६६ प्रतिशतको हाराहारीमा भएपनि अधिकांश नगरपालिकाहरुमा न्यूनतम आधारभूत पूर्वाधार पुग्न नसकेको बताए।
उनले हालै स्थापना भएका नगरपालिकाहरुको संस्थागत क्षमता अपेक्षित रुपमा विकसित हुन नसकेको पनि बताए।
सचिव सिंहले बहुआयामिक विषयहरु समेटिएको शहरी पूर्वाधार विकासमा संलग्न निकायहरुबीच आपसी समन्वयको अभाव भएको पनि उल्लेख गरे।
सचिव सिंहले शहरी विकासमा तीन तहका सरकारहरुको भूमिका समेत अस्पष्ट रहेको बताए। उनले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्न नयाँ शहरी नीति, एकीकृत शहरी विकासका लागि शहरी विकास ऐन र मापदण्डहरुको तर्जुमा गर्नुपर्ने अवस्था रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।