काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा छ भनेर अर्थमन्त्रीले धाक लगाएको बताएका छन्। मंगलबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारसँग पैसा नभएको दाबी गरे।
'हिजो अर्थमन्त्रीले धाक लगाए हामीसँग यति अर्ब छ भनेर। अनि बजेट किन कटौती गरेको त? योजना किन काटेको त? ठेकेदारलाई बजेट किन निकासा नगरेको? उसले काम गरिसकेको भुक्तानी किन नदिएको? नयाँ नयाँ आयोजनाहरु किन नगरेको?', ओलीको प्रश्न छ।
उनले पैसा छ भन्ने, काम केही नगर्ने गरेको भन्दै सरकारको आलोचना गरे। पैसा आउने गरी यो सरकारले कामै नगरेकाले सरकारसँग पैसा नभएको उनको भनाइ छ। 'यो सरकार त लुटमारमा लागेको छ', उनले भने।
ओलीले सरकार तथा गठबन्धनलाई दुर्भाग्य र अभिशाप भएको भन्दै आक्रोशित भए। 'यो गठबन्धन देशका लागि दुर्भाग्य हो, अभिशाप हो। देशलाई कंगाल बनाइसक्यो। धेरै अर्थविद् र अर्थशास्त्रीहरु भनिरहेका छन्, देश यसै गरी उँधो लाग्दै जाने हो भने श्रीलंका हुन बेर छैन', उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।