काठमाडौं– नेपालको वस्तु निर्यात ८२.९ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिना (साउनदेखि फागुनसम्म) १ खर्ब ४७ करोड वस्तु निर्यात भएको छ।
गन्त्वयका आधारमा भारत तथा अन्य मुलुकर्फत भएको निर्यात क्रमश: १०४.२ प्रतिशत र २९.१ प्रतिशतले बढेको छ। चीनतर्फको निर्यात भने ११ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), उनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ। अलैँची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात भने घटेको छ।
यस्तै, ८ महिनाको अवधिमा वस्तु आयात ३८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। ८ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ।
८ महिनाको अवधिमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: २८.१ प्रतिशत, ३७.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
वस्तुगत आधारमा पेट्रोलियम पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस स्गर लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ।
चालु आव ०७८/७९ को ८ महिनामा कूल वस्तु व्यापारघाटा ३४.५ प्रतिशतले वृद्धि भइ ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।