काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताएका छन्।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्।
उनले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए। सम्मानित नेता खनालले अब गाउँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए।
'हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन्। शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन्' उनले भने, 'हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँछ। त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ। त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ। त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरबार हो भन्ने गरेका छन्।'
तयर यसबारे खोज अनुसन्धान नगरी जे पायो त्यही भन्न नहुने बताए। पूर्व प्रधानमन्त्री केपी ओलीले अयोध्या चितवनमा पर्छ भने जस्तो भन्न नमिल्ने उनको भनाइ छ। 'खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवत भन्दा अगाडिको कुरा हो। आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्छ। त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ।'
सम्मानित नेता खनालले नेपालका केही स्थानहरुमा पुराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।