काठमाडौं– हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘हिमालयन रोडिट’को चौथो संस्करणको उपाधि नसिव तामाङले जितेका छन्। सोमबार भएको कार्यक्रमको ग्राण्ड फिनालेमा रोडिजको उपाधि तामाङले उचालेका हुन्।
तीन महिनाअघि सुरु भएको कार्यक्रमको फाइनलमा तामाङ र रोशन श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। श्रेष्ठलाई पछि पार्दै तामाङले उपाधि उचालेका छन्। विजेता बनेका तामाङले १० लाख रुपैयाँ नगद, यामाहाको स्कुटर र ट्रफी पाएका छन्। फाइनलमा दिइएको टास्कलाई कम समयमा पूरा गर्दै उनले उपाधि जितेका हुन्।
हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको यो कार्यक्रम भारतीय रियालिटी शो ‘एमटिभी रोडिज’को नेपाली संस्करण हो। कार्यक्रमलाई भारतीय निर्माता ‘भायकम’मार्फत फ्रेन्चाइजको रुपमा नेपालमा निर्माण गरिएको छ।
१८ जना प्रतिस्पर्धीले भाग लिएको कार्यक्रमको चौथो संस्करणलाई सिमोस सुनुवारले निर्देशन गरेका थिए। कार्यक्रममा निर्णायकको रुपमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो सिजनका विजेता समन श्रेष्ठ थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।