काठमाडौं– नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३ सय रुपैयाँबराबरको कपडासहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौं महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेको प्रहरीले जनाएको छ।
भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।