काठमाडौं– वीरगञ्ज भन्सार कार्यालयबाट इन्धन आयातमा उलेख्य वृद्धि भएको छ। देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढीको १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो।
आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा सो नाकाबाट ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात भएको थियो।
चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ।
समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा शतप्रतिशत भन्दा बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो। कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो। चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यापार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको हो।
गत आवको आठ महिनामा वीरगञ्ज नाकाबाट भएको इन्धन आयातबाट ३५ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आवको सोही अवधिमा १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रु ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।