काठमाडौं– भन्सार छली गरेर कपडा ल्याएको आरोपमा २ जना व्यापारी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका– २४ असनस्थित स्थानीय व्यापारीले भन्सार छली गरेर कपडा व्यापार गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १४ बाफल घरका ३८ वर्षीय निरज अग्रवाल र भारत राजस्थान घर भइ हाल काठमाडौं महानगरपालिका–१८ नरदेबी बस्ने ३८ वर्षीय सन्दिप कुमार रहेका छन्।
उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी बृत्त कालिमाटी र जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसरका अनुसार अग्रवालले सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा करिब २३ लाख ५५ हजार बराबरको कपडा लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको छ।
पक्राउ परेका दुईजनालाई बरामद सामानसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।