काठमाडौं– पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
पाकिस्तानको संयुक्त विपक्षी दलले शाहबाजलाई प्रधानमन्त्रीका लागि संयुक्त उम्मेदवार बनाएको थियो। सोमबार राष्ट्रिय सभामा भएको मतदानमा शाहबाजले १७४ मत पाए। बहुमतका लागि १७२ मत आवश्यक पर्छ। उनी पाकिस्तानको २३औं प्रधानमन्त्री हुन्।
यता, राष्ट्रिय सभाको अधिवेशन सुरु हुनेबित्तिकै इमरान खानको पार्टीका सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेका थिए।
खानले अमेरिकाको इशारामा आफूलाई षडयन्त्रमार्फत् सत्ताबाट हटाएको दाबी गरेका छन्। आइतबार राष्ट्रिय सभामा अविश्वासको प्रस्ताव पारित भएपछि सत्ताबाट हटाइएका खानको स्थानमा शाहबाज अब देशको नयाँ प्रधानमन्त्री बनेका छन्।
शाहबाजविरुद्ध लेनदेन सम्बन्धी मुद्दा चलिरहेको छ, जसको अर्को सुनुवाइ अप्रिल २७ मा हुनेछ। यसैबीच, अदालतले उनलाई २७ अप्रिलसम्म पक्राउ गर्न रोक लगाएको छ। शहबाजकै अगुवाइमा विपक्षी दलले खानको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए।
उपसभामुखबाट प्रस्ताव रद्ध, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटनलाई सर्वोच्च अदालतले बिहीबार उल्ट्याएर अगाडि बढाउन आदेश दिएपछि आइतबार मध्यराति अविश्वासको प्रस्ताव पारित भएको थियो। नवनियुक्त प्रधानमन्त्री शहबाजले आज साँझ ८ बजे सपथ लिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।