काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकाबाट कुनै व्यक्तिको नाममा आएको पैसा रोकिएकाले खोलदिन भनेर दबाब नदिएको दाबी गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले दबाब दिएको नभई नागरिकले 'मेरो पैसा अनावश्यक रोकियो भनी निवेदन दिएपछि के भएको हो भनेर सोधेको' दाबी गरेका छन्।
अछामको बान्नीगढी जयगढ गाउँपालिका घर भएका पृथ्वीबहादुर शाहका नाममा अमेरिकाबाट आएको करिब ४० करोड रूपैयाँ जफत गरी अमेरिका पठाइदिन भन्दै त्यहाँको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेकोमा अर्थमन्त्रीले दबाब दिएको समाचार बाहिरिएको थियो।
‘कुनै नागरिकले अर्थ मन्त्रालयमा आएर मेरो पैसा रोकियो भनेर निवेदन दिएपछि यसमा के भएको हो बुझिदिनुस् भनेको हो ’, शर्माले भने, ‘यसो भन्नु हस्तक्षेप होइन। भोलि छानबिनपछि यस्ता कुरा सबै आउलान्।’
उनले आफूले कुनै पनि कुरामा यस्तो दबाब नदिएको बताए। उनले अर्थतन्त्र समाप्त भयो भनेर राजनीति गरिएको उल्लेख गरे। मन्त्री शर्माले अहिले राजश्व, वैदेशिक विप्रेषण वृद्धिजस्ता कार्य भएकाले खत्तम नै भएको भन्न नमिल्ने बताए।
नेपालको अर्थतन्त्र सकारात्मक दिशातिर गइरहेको उनको दाबी छ। उनले कोभिड, रुस–युक्रेन युद्धले समस्या भएको मन्त्री शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।