काठमाडौं– इमरान खानसहित पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का सांसद्ले राष्ट्रिय सभाबाट सामूहिक राजीनामाको घोषणा गरेका छन्।
योसँगै प्रधानमन्त्रीको निर्वाचन बहिष्कार गर्ने पनि बताइएको छ। पूर्वप्रधानमन्त्री खानले संसदीय दलको बैठकमा भने, ‘हामी उनीहरुसँग कहिल्यै पनि सभामा बस्न सक्दैनौं।’
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय सभामा पीटीआई नेता तथा पूर्व सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी राजीनामा दिनेछौं र स्वतन्त्रताका लागि लड्नेछौं।’
पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रिय सभाको बैठक चलिरहेको छ। पाकिस्तानको संयुक्त विपक्षी दलले शाहबाज सरिफलाई प्रधानमन्त्री पदका लागि उम्मेदवार बनाएको छ। यता, पीटीआईले शाह महमूद कुरैशीलाई उम्मेदवार बनाएको थियो।
राष्ट्रिय सभामा बोल्दै कुरैशीले खान सरकारको तारिफ गरेका थिए। कुरैशी भन्छन्, ‘इमरान खान सरकारले पाकिस्तानलाई दासताको सोचबाट स्वतन्त्रता दिएको छ र स्वतन्त्र सोचको बाटो दिएको छ।’
आफ्नो भाषणपछि कुरैशीले प्रधानमन्त्रीको निर्वाचनमा भाग नलिने बताएका थिए। उनले पीटीआईले राष्ट्रिय सभाबाट राजीनामा दिएको बताए। उनी निस्किने बित्तिकै उपसभामुख कासिम सुरीले पनि सिट छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।