काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेसका सांसद् शशांक कोइरालाई सात दिनभित्र जवाफ दिन भनेको छ। कोइरालाको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगको अभिलेखबाट देखिने उनले बताए। 'तर, विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो, सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ', नियमित पत्रकार सम्मेलनमा पौडेलले भने।
कोइराला २०७४ सालमा नवलपरासी पूर्व- १ बाट विजयी भएका थिए। गत शनिबार उनले निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। जबकि, त्यतिबेला आयोगले खर्चको सीमा २५ लाखसम्म तोकेको थियो।
कोइरालाले 'अफ द रेकर्ड' भन्दै सो कार्यक्रमा भनेका थिए- 'पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा तीन करोड र लास्ट चुनावमा ६ करोड। ल भन्नुस् त तपाईंहरु कोही चुनाव लड्न चाहनुहुन्छ, मेरो क्षेत्रबाट? म छोड्न तयार छु। तपाईंहरुले कम्तीमा ६/७ करोड त्यहाँ (खर्च) गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।