काठमाडौं– सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा. विजय पौडेलले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको बताएका छन्। उनले सरकारसँग अझै साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी पनि गरे।
सोमबार पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन्।
पौडेलले रकम बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पुँजीकरणको सुविधा दिनुपर्ने बताए।
उनले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पुँजीकरणको सुविधा दिँदा व्यापारीहरु पनि कालो सूची (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताए।
उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पुँजी नेपालमा डलरमा पठाए आर्थिक संंकटको समाधान हुने बताए।
पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजी ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।