काठमाडौं- विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरमा महिला उम्मेदवार उठाउने भएको छ। काठमाडौं महानगर इमानदार, सक्षम, परिपक्व महिलालाई जिम्मा लगाउन आह्वान गर्दै समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उम्मेदवार तय गरेको हो। भनिएको छ, 'देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाउँ, राजधानीको गौरव पुनर्स्थापित गरौं।'
बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।
उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवारसमेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
'विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना 'इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध' महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने' विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।
बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।