काठमाडौं– नेपाली सेनाले सशस्त्र प्रहरी बललाई १० हजार ६ सय थान हतियार दिने भएको छ। चैत २४ गतेको मन्त्रीपरिषद् निर्णय अनुसार सेनाले सशस्त्रलाई १० हजार ६ सय हतियार दिने प्रक्रिया सुरु गरेको हो।
जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पहिलो चरणमा ५ सय इन्सास राइफल र लाइट सर्पोट वेपन (एलएसडब्लु) ९० थान हस्तान्तरण गरे।
सेनाले सशस्त्रलाई इन्सास राईफल ९ हजार तथा एलएसडब्लु १६ सय गरी १० हजार ६ सय थान हतियार दिनेछ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपरथी अशोक राज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने बताए।
कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्रको तर्फबाट कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त हतियार रक्षा सचिव किरणराज शर्मा तथा गृह सचिव टेकनाराण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।