काठमाडौं– सशस्त्र प्रहरी बलमा भावी दुई महानिरीक्षक (आईजी)को टुंगो एकैपटक लगाउने तयारी भएको छ। यही चैत २८ गते राति १२ बजेबाट हालका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ४ वर्षे सेवा अधवीका कारण अनिवार्य अवकाशमा जाँदैछन्।
खनालको अवकाशपछि आईजीमा बढुवा हुने दुई प्रहरी अधिकृतको टुंगो एकैपटक लगाउने गरी सरकारले तयारी गरेको छ। जसअन्तर्गत भोली (सोमबार) एक जनालाई आईजी र अर्को एक प्रहरी अधिकृतलाई एआईजीमा बढुवा सिफारिस गर्ने तयारी भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
आईजीमा बढुवाका लागि सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुष्पराम केसी र रामशरण पौडेल दाबेदार छन्। उनीहरु दुईमध्ये एक जनाले २१ दिन सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा संगठनको नेतृत्व सम्हाल्ने छन्। उनीहरु दुबै जना आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।
यसरी २१ दिने र वैशाख १८ पछि संगठनको नेतृत्व सम्हाल्ने व्यक्तिको एकै दिन टुंगो लगाउने तयारी भएको छ। सशस्त्र प्रहरी नियमावलीमा नेपाल प्रहरीको जस्तो एआईजी नभएको अवस्थामा डीआईजीबाट सोझै आईजीमा बढुवा गर्न सकिने प्रावधान छैन।
नियमावलीको नियम ५३ मा आईजी बढुवाबारे लेखिएको छ– ‘सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ।’
दफा ५३ मा एआईजी नभएको अवस्थामा डीआईजीबाट पनि आईजी नियुक्त गर्न सकिने व्यवस्था नगरिएकाले सरकारले २१ दिने आईजीको टुंगो लगाएसँगै रिक्त एक एआईजी पदमा पनि बढुवा गर्नुपर्ने छ। रिक्त त्यही पदमा बढुवा हुने व्यक्ति नै त्यसपछि आईजी नियुक्त हुने निश्चित छ।
यसरी २९ गतेबाट जिम्मेवारी सम्हाल्ने गरी केसी र पौडलमध्ये १ जनालाई आईजी बनाउँदा रिक्त एक एआईजी पदमा पनि बढुवा गर्नुपर्ने हुन्छ। रिक्त रहने एक एआईजी पदमा पनि मंगलबार बढुवाका लागि सिफारिसरको तयारी गरिएको स्रोतको भनाइ छ।
डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल चन्द्रप्रकाश गौतम (सीपी) मध्ये एक जनालाई भोलि नै बढुवा समितिले एआईजी बढुवामा सिफारिस गर्ने स्रोतले बतायो। मंगलबार बढुवा सिफारिस भएमा यसपटक सशस्त्रमा २१ दिने आईजी र त्यसपछि बन्ने आईजीको टुंगो समेत एकै दिन लाग्ने सम्भावना रहेको छ।
एआईजी बढुवा तथा भावी आईजीका दाबेदारमध्ये अर्याल र पौडेल २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। गौतम भने उनीहरुभन्दा दुई वर्षअघि २०५२ चैत ३ गते नेपाली सेनामा भर्ना भएका थिए। सशस्त्र प्रहरी बल गठन हुँदा उनीहरु यता समायोजन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।