काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा हेर्न प्रहरी उपरीक्षक (एसपी) खटाइएको छ। मुद्दाको चाप बढि भएपछि प्रहरी प्रधान कार्यालयले एसपी खटाएको हो।
मुद्दा हेर्नका लागि अहिले एसपी सानुराम भट्टराईलाई खटाइएको छ। महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत रहेका एसपी भट्टराईलाई परिसर काठमाडौंमा काज सरुवा गरेर मुद्दा हेर्ने जिम्मा दिइएको हो।
परिसर काठमाडौंको मुद्दाको टोलीले पर्याप्त प्रमाण नजुटाइ बाबुराजा रावल अपहरणको अनुसन्धान टुंगाएर फाइल बुझाएको थियो। पछि ती आरोपी आफू प्रहरीले भनेको नेपाली नागरिक दुर्गाबहादुर बुढाथोकी नभइ भारतीय नागरिक भएको प्रमाण पेस गर्दै सफाइ पाएर रिहा भएका थिए।
त्यसपछि उक्त घटनाको छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी चक्रबहादुर सिंह नेतृत्वको छानबिन समिति बनाएको थियो। समितिले काठमाडौंमा मुद्दाको चाप अत्याधिक रहेको र परिसर लगायत सबै वृत्तका मुद्दाको अनुगमन गर्न एक एसपी राख्नुपर्ने सुझाव पेस गरेको थियो।
सोही सुझावअनुसार एसपी खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।