काठमाडौं– वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही प्रक्रिया फिर्ता लिन माग गरेका छन्।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्र संकटपूर्ण घडीमा भएकाले बेला सरकारले गरेको कारबाहीले दीर्घकालिन नकारात्मक असर पर्ने भएकाले फिर्ता लिन आग्रह गरेका हुन्।
‘आम जनसमुदायको विश्वास र सहकार्य जुटाउँदै, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनको परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोध र सीमित स्वार्थका खातिर एउटा स्वायत्त एवं संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि देशको समग्र वित्तीय प्रणाली र अर्थतन्त्रमाथि दीर्घकालीन नकारात्मक असर पर्ने गरी सुरु गरिएको कारबाही हरतरहले निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, केन्द्रीय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र निराधार आरोपका आधारमा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौं।’
यस्ता प्रवृत्तिहरु नरोकिने र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वको लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने उनीहरूको चेतावनी छ। यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्ने उनीहरूको चेतावनी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।