काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट आन्दोलनमा जोड्न आवश्यक नरहेको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनकेन्द्रित प्रचार भेलामा उनले प्रचण्ड र नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवासँगै जान दिनुपर्ने बताए। तर, उनीहरूसित भएका कार्यकर्तालाई एमालेमा जोड्नका लागि लाग्नुपर्ने उनले बताए।
देउवा नहुने हो भने माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडिरहेको पोखरेलले टिप्पणी गरे।
'माधव नेपालहरूले यात्रा समृद्धिको लक्ष्य समाजवाद भन्छन् यो भन्दा मजाक केही हुन्छ? माओवादीको पनि नारा हेरौं। नेपालमा जस्तो नांगो हस्तक्षेप हेर्नुस् कस्तो छ। हामीले यस्ता कुराको कति भण्डाफोर गर्न सकेका छौं त्यो पनि हेरौं', पोखरेलले भने, 'नाकाबन्दीको बेला केपी ओली नेतृत्वको सरकारले गरेको काम हेर्नुस्। नेपाल–भारत सम्बन्धलाई नयाँ दिशामा लैजाने हो भने ईपीजे प्रतिवेदन लागू गर्नुपर्ने हुन्छ। त्यसका लागि पनि नेकपा एमाले नेतृत्वको सरकारले नै काम गरेको हो।'
राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने र केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उनले दाबी गरे। एमाले अध्यक्ष ओलीको छवि अन्तर्राष्ट्रिय रूपमा राम्रो बनाउन सकिएको पोखरेलको भनाइ छ।
'केपी ओलीले अधिकारको लडाइँलाई विकास निर्माण लगायतमा लगाउन सक्नुभयो नि त। संविधानको कार्यान्वयन अर्को आधार हो। संविधान जारी भएपछि अहिलेको अवस्थासम्म राजनीतिलाई बदल्ने काम त केपी शर्मा ओलीको नेतृत्वमा नै सम्भव भएको हो', पोखरेलले थपे।
सिके राउत र विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने काम एमाले नेतृत्वको सरकारले नै गरेको पोखरेलले स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।