काठमाडौं– नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाएको हो। दुई महिनासम्म सञ्चालन हुने एनबिएल नेपालकै ठूलो बास्केटबल लिग हो। लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अबे ढाँचामा हुनेछ। शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन्। प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने छन्। पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन्।
लिगमा पुरुषतर्फ ८ टोलीले सहभागिता हरनेछन् भने महिलातर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब, रोयल बास्केटबल क्लब, बूढानीलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, विशाल मिलन केन्द्र र क्याम्पियन सोलोले सहभागिता जनाउनेछन्।
यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आईएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरुण कार्कीले जानकारी दिए। प्रतियोगितामा एक टोलीले ४ विदेशी खेलाडी समावेश गर्न पाउँनेछन् भने दुई खेलाडीले कोर्टमा खेल्न पाउन प्रावधान तोकिएको छ।
एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने महिलाको विजेताले १ लाख रुपैयाँ पाउनेछ। पुरुषतर्फ दोस्रो हुने टिमले १ लाख र महिलातर्फ दोस्रो हुनेले ५० हजार पाउने छन्। यस्तै, हरेक खेलमा मस्ट भ्यालुएबल खेलाडीले ३ हजार बराबरको गिफ््ट भौचर प्राप्त गर्ने छन्। लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।