काठमाडौं– नेकपा एमालेका ३ नेताहरु (पूर्वअर्थमन्त्री)ले देशको आर्थिक अवस्था कमजोर हुँदै जानुमा वर्तमान सरकारनै सबैभन्दा ठूलो कारक भएको आरोप लगाएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सुदृढ अवस्थामै रहेको अर्थतन्त्र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि बिग्रिँदै गएको एमालेका ३ पूर्वअर्थमन्त्रीहरुको भनाइ छ।
पूर्वअर्थमन्त्रीहरु– एमाले उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्वगभर्नर समेत रहेका एमाले नेता युवराज खतिवडाले सोमबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारको ध्यान अर्थतन्त्रमा देखिएको समस्या समाधानमा भन्दापनि आफ्नै स्वार्थसिद्ध गर्न केन्द्रित रहेको आरोप लगाए।
आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटमाथि खेलवाड गरेर गठबन्धन सरकारले अर्थतन्त्र बिगार्न सुरु गरेको उनीहरुको आरोप छ। गठबन्धन सरकारले एमालेको सरकारका लोकप्रिय कार्यक्रमहरु खारेज गरेको पनि उनीहरुले उल्लेख गरेका छन्।
अहिलेको सरकारका कारण मूल्यवृद्धि अघिल्लो सरकारको बेलामाभन्दा दोब्बर भएको, जथाभावी मूल्यवृद्धि गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम भइरहेको, वैदेशिक व्यापारघाटा देशले धान्नै नसक्नेगरी आकासिएको लगायत आरोप एमालेका नेताहरुले लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।