काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले देशमा जारी आर्थिक संकट सुधारका लागि अर्थशास्त्रीहरूको एउटा विशेष सल्लाहकार समूह गठन गरेका छन्।
श्रीलंकाको आर्थिक अवस्था दिनहुँ दयनीय बन्दै गएपछि राष्ट्रपति राजपाक्षेले तेस्रो प्रयासस्वरुप अर्थशास्त्रीहरूको एउटा विशेष सल्लाहकार समूह गठन गरेका हुन्।
सल्लाहकार समूहको सदस्यहरूमा श्रीलंकाली केन्द्रीय बैंकका पूर्वगर्भनर इन्द्रजीत कुमारस्वामी, विश्व बैंकका पूर्वमुख्य अर्थशास्त्री शान्ता देवराजन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) क्षमता विकास संस्थानका पूर्वनिर्देशक सर्मिनी कोरे छन्।
श्रीलंकाको राजनीतिक संकट अझै गहिरो हुँदै गइरहेको छ। स्थानीय पत्रपत्रिकाका अनुसार श्रीलंकाका २६ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा सुम्पिएका छन्।
विपक्षी पार्टीको आलोचनाका बीच सरकारले अली साबरीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिदै ४ जनालाई मन्त्री बनाएको थियो। तर, उनीहरूले २४ घण्टा नबित्दै राजीनामा गरेका थिए।
यो घटनापछि राष्ट्रपति राजपाक्षेले आर्थिक सल्लाहकार समूह गठन गरेका हुन्। श्रीलंकामा हाल अर्थमन्त्रीसहित गर्भनर पद पनि रिक्त छ।
श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजिथ काब्रालले सोमबार पदबाट राजीनामा दिएका थिए। मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उनले बताएका थिए।
बुधबार बान्दुला गुणवद्र्धनेको अर्थमन्त्री बन्ने चर्चा थियो। तर, उनले अर्थमन्त्रीको पद अस्वीकार गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।