काठमाडौं– अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेमा कडा कदम चाल्ने चीनले चेतावनी दिएको छ।
पेलोसी ताइवान जाने तयारीमा रहेको मिडियामा खबर आएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले ताइवान र अमेरिकाबीचको कुनै पनि आधिकारिक सम्पर्कको विरोध गरेको र अमेरिकाले पेलोसीको भ्रमण रद्द गर्नुपर्ने बताए।
चीनले ताइवानलाई एक चीन नीतिअन्तर्गत आफ्नो भागको रूपमा मान्छ, जबकि ताइवानले आफूलाई एक स्वतन्त्र देश मान्छ र एक निर्वाचित सरकार छ।
पेलोसीले ताइवानको यात्रा गरे अमेरिकाले त्यसको परिणाम भोग्नुपर्ने उनले बताए। यद्यपि, उनले यसबारे विस्तृतमा केही भनेनन्।
पछिल्लो पटक अमेरिकी संसदका सभामुखले सन् १९९७ मा ताइवानको भ्रमण गरेका थिए। पेलोसी चीनको कडा आलोचक हुन् र धेरै पटक चीनमाथि मानवअधिकार उल्लंघनको आरोप लगाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।